काठमाडौं ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता र एकजुटताका साथ विकास तथा समृद्धितर्फ अघि बढ्नुपर्ने बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै रेग्मीले समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु आवश्यक रहेको उल्लेख गरे। उनले लामो सङ्घर्ष र विभिन्न जनआन्दोलनका उपलब्धिस्वरूप संविधानसभाबाट २०७२ सालमा नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन सफल भएको स्मरण गरे।
प्राकृतिक विपद् नेपालका प्रमुख चुनौती रहेको बताउँदै रेग्मीले भूकम्पीय जोखिम, बाढीपहिरो र जलवायु परिवर्तनका असर सामना गर्न राष्ट्रिय एकता र सामूहिक प्रयास आवश्यक रहेको बताए।
हालैको भोटेकोशी तथा रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले हिमपहिरो तथा जलवायु परिवर्तनका कारण हुने विपद्सँग जुध्न नेपालको क्षमता पर्याप्त नभएको बताए। नेपाललाई जलवायु न्याय र क्षतिपूर्ति आवश्यक रहेको उनको भनाइ छ।
जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै रेग्मीले यस विषयमा संयुक्त राष्ट्रसङ्घले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए। साथै, दीर्घकालीन रूपमा प्राकृतिक विपद् सामना गर्ने नेपालको आफ्नै क्षमता र सामर्थ्य वृद्धि गर्नुपर्ने उनले बताए।











प्रतिक्रिया