काठमाडौँ।
नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले ल्याएको कार्यतालिका अनुसारको महाधिवेशनमा सहभागी नहुन अपिल गर्नुभएको छ ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले १५औं महाधिवेशन अन्तर्गत असोज ३ र ४ मा वडा अधिवेशन शुरु गर्ने भएपछि देउवाले यस्तो अपील जारी गर्नुभएको हो । देउवाले आफू १४औं महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औं महाधिवेशन गर्न पाउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।
देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन भन्दै तर राज्य र नेपाली कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न भने पछि नहट्ने बताउनु भएको छ । १५औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको पनि उहाँको दलिल छ ।
देउवाले पूर्व महामन्त्री शशांक कोइराला संयोजक रहेको १५औं महाधिवेशन तयारी समितिले ल्याएको कार्यतालिका अनुसार मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनमा सहभागी हुन पनि आग्रह गर्नुभएको छ ।
कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि हतारमा विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा आफू मुकदर्शक भएर नबस्ने चेतावनी पनि दिनुभएको छ ।











प्रतिक्रिया