काठमाडौं, (नेस) ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले निलम्बन फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ज्ञापनपत्रसहित धर्ना दिने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा निलम्बनमा परेको एन्फाले आज मंगलबार ११ बजे धर्ना दिइने जनायो । निलम्बन एन्फाका महासचिव किरण राईको अनुसार राखेप परिसरमा एक घण्टा धर्ना दिने र त्यसपछि पत्रकार सम्मेलन गरिने कार्यक्रम रहेको छ ।
एन्फा सचिवालयले नेपाली फुटबलको अन्योल अन्त्य, निलम्बन फुकुवा तथा फुटबल गतिविधि नियमित सञ्चालनको वातावरण बनाउन राखेप र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने जनाएको छ ।
फिफाले एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै गत असार ११ गते फिफा विधानको धारा १४ को उपधारा १ (आई) र उपधारा ३ अनुसार धारा १६ बमोजिम अनिश्चितकालीन निलम्बन गरेको थियो । फिफाको सदस्य बनेयता नेपाली फुटबल पहिलोपटक निलम्बनमा परेको हो ।
एन्फाले गत चैत १३ गते केन्द्रीय निर्वाचन गर्ने निर्णय गरेपछि राखेपसँग विवाद बढेको थियो । राखेपले तहगत निर्वाचन सम्पन्न गर्न पटक–पटक निर्देशन दिए पनि एन्फाले त्यसलाई पालना नगरेको भन्दै निर्वाचनको दुई दिनअघि चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो ।
राखेपले एन्फाको गतिविधिमाथि बन्देज लगाइएपछि फिफाले सरकारी हस्तक्षेपका रूपमा लिएको थियो । सदस्य संघका प्रतिनिधिलाई स्वतन्त्र रूपमा कार्यक्रममा सहभागी हुन नदिनु हस्तक्षेप भएको ठहर गर्दै फिफाले स्पष्टीकरण मागेको थियो । सन्तोषजनक जवाफ नआएपछि नेपाली फुटबल निलम्बनमा परेको थियो ।
फिफाद्वारा निलम्बनमा परेपछि नेपालले खेल्ने हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन सकेन । राष्ट्रिय टोली तथा नेपाली क्लबका साथै फिफाबाट मान्यताप्राप्त नेपाली रेफ्रीले पनि अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न पाएका छैनन् । फिफा र एएफसीबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत रोकिएको छ ।











प्रतिक्रिया