चाडबाड नजिकिएसँगै बैंकमा बढ्यो कर्जाको माग


काठमाडौं ।

चाडबाड नजिकिएसँगै बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको छ। चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिएको हो।

नेपाल बैंकर्स संघका अनुसार भदौ १९ गतेसम्म वाणिज्य बैंकहरूले करिब ४३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। साउनमा भने कर्जा लगानी करिब २ अर्ब रुपैयाँले घटेको थियो।

बैंकरहरूले जलविद्युत् तथा होटल क्षेत्रमा नयाँ परियोजना, राष्ट्र बैंकको तुलनात्मक रूपमा खुकुलो कर्जा नीति, न्यून ब्याजदर र चाडबाडका कारण बढ्ने आर्थिक गतिविधिले कर्जाको माग थप बढ्ने अनुमान गरेका छन्।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार निर्माणाधीन जलविद्युत् तथा होटल परियोजनाबाट कर्जाको माग बढेको छ। साथै, रसुवा बाढीपछिको पुनर्निर्माणमा सरकारी पूँजीगत खर्च बढेमा सिमेन्ट, डन्डी लगायतका क्षेत्रमा उत्पादन र कर्जाको मागसमेत बढ्ने उनको भनाइ छ।

चालु आर्थिक वर्षको भदौ १९ गतेसम्म वाणिज्य बैंकहरूमा ६४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने कर्जा ४३ अर्ब रुपैयाँले बढेको छ। सो अवधिमा बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात ७०.६५ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षमा निजी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा ६.५ प्रतिशत अर्थात् ३ खर्ब ५९ अर्ब रुपैयाँले बढेको थियो। चालु आर्थिक वर्षमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार ११ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।