काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाएर सम्भावित विपद्को जोखिम कम गर्न सरकार तयारीमा रहेको बताएका छन्।
उनका अनुसार जोखिमयुक्त हिमतालमा वैज्ञानिक विधिबाट पानीको सतह घटाउने तथा आवश्यक परे ‘ब्लास्टिङ’मार्फत पानी निकास गर्ने विषयमा विज्ञसँग छलफल भइरहेको छ। जोखिमको मात्रा अध्ययन गरी आवश्यक तयारी पूरा भएपछि निर्णय लिइने मन्त्री श्रेष्ठले बताए।
ग्रीन क्लाइमेट फण्डको सहयोग परिचालन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँगको सहकार्यमा चालु वर्षमै जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने काम अघि बढाइने उनको भनाइ छ।
इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन्। तीमध्ये कोशी र गण्डकी क्षेत्रमा चारवटा अतिउच्च जोखिमयुक्त हिमताल रहेका छन्।











प्रतिक्रिया