काठमाडौं ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत एमसीए–नेपालले नवलपरासीको सुनवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ।
सुनवल नगरपालिका–१३ स्थित न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको प्रसारण लाइन शिलान्यास भएको नौ महिनामै निर्माण सम्पन्न भएको हो। यो एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण सम्पन्न भएको पहिलो प्रमुख पूर्वाधार परियोजना बनेको छ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपालको विद्युत् आवश्यकतालाई ध्यानमा राख्दै निर्माणलाई तीव्रता दिइएको बताए।
भारतीय कम्पनी ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १ करोड २३ लाख ८० हजार अमेरिकी डलरमा २१ महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। अमेरिकी सरकारको वैदेशिक सहायता समीक्षाका क्रममा केही समय आयोजना कार्यान्वयन रोकिए पनि पछि निर्माण अघि बढाइएको थियो।
बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएसँगै नेपालतर्फको दोस्रो सीमापार प्रसारण लाइनको एक महत्वपूर्ण खण्ड तयार भएको छ।
एमसीसी अनुदानअन्तर्गत नेपालमा कुल ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ। यसका अतिरिक्त ४०० केभीका विद्युत् सबस्टेसन तथा सडक सुधारका आयोजनासमेत कार्यान्वयनमा छन्।











प्रतिक्रिया