इरानमा इन्धन ट्याङ्करमा आगलागी, ११ जनाको मृत्यु


काठमाडौँ।

इरानको सानन्दज–हमादान राजमार्गमा इन्धन बोकेको ट्याङ्करमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

कुर्दिस्तान न्याय विभागको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै इरानको समाचार एजेन्सी इरनाले जनाएअनुसार घटना शनिबार साँझ करिब ५ः३० बजे सानन्दज शहरको प्रवेशद्वारनजिक भएको हो।

प्रारम्भिक विवरणअनुसार २० हजार लिटर पेट्रोल बोकेको इन्धन ट्याङ्करले मिनीबसलाई पछाडिबाट ठक्कर दिएपछि आगलागी तथा विस्फोट भएको थियो। दुर्घटनामा ट्याङ्कर र मिनीबसका चालकसहित ११ जनाको मृत्यु भएको जनाइएको छ।

घटनापछि कुर्दिस्तानका गभर्नरले प्रान्तभर दुई दिनको सार्वजनिक शोक घोषणा गरेका छन्।

कुर्दिस्तानका प्रधानन्यायाधीश मोहम्मद जब्बारीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताएका छन्। उनका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्धन ट्याङ्करको ब्रेकमा आएको प्राविधिक समस्याका कारण दुर्घटना भएको देखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।