कटिया हाउस इन्डोर सुपर लिग भदौ २२ देखि विजेताले ५ लाख पाउने


काठमाडौं, (नेस) ।

काठमाडौँको गोल्फुटारस्थित भेलोसिटी एरेनामा आगामी भदौ २२ देखि २८ गतेसम्म ‘कटिया हाउस इन्डोर सुपर लिग सिजन २’ आयोजना हुने भएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ट्रफीको अनावरण गरेका हुन् ।

प्रतियोगिताका निर्देशक ज्योति भण्डारी र प्राविधिक निर्देशक रवीन्द्र गुप्ताका अनुसार यस प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडीहरूलाई अफ–सिजनको समयमा पनि आर्थिक र शारीरिक रूपमा सबल बनाउन महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।

कुल ४५ लाख रुपैयाँको अनुमानित लागतमा सम्पन्न हुन लागेको यस प्रतियोगितामा मिक्स्म्याण्डु, विराटनगर बटालियन, काठमाडौँ कैलाश, जनकपुर किङ्स, बुटवल एम्पायर्स, ललितपुर अलस्टार्ज, सुदूरपश्चिम टाइगर्स, लुम्बिनी योर्कर्स, माया हेटौँडा रोयल्स र पोखरा वारियर्स गरी १० वटा टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ पाउने छ ।
यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि एक्स्ट्रिम सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार, एक्स्ट्रिम उत्कृष्ट ब्याटरलाई १५ हजार, एक्स्ट्रिम उत्कृष्ट बलरलाई १५ हजार, एक्स्ट्रिम उदीयमान खेलाडीलाई १० हजार रुपैयाँ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रिबन इन्टरटेनमेन्ट मिसेस नेपाल वल्र्ड २०२६ प्लेयर अफ द म्याच पुरस्कार प्रदान गरिनेछ ।