आवासीय चिकित्सकका माग सम्बोधन नभए कडा कदम चाल्ने संघको चेतावनी

नेशनल मेडिकल कलेज वीरगन्ज व्यवस्थापनले सुनुवाइ नगरेको आरोप


काठमाडौं।

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जका आवासीय चिकित्सकले उठाएका मागप्रति कलेज व्यवस्थापनले सुनुवाइ नगरेको भन्दै नेपाल चिकित्सक संघले तत्काल समस्या समाधान गर्न माग गरेको छ । माग सम्बोधन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत संघले दिएको छ ।
नेपाल चिकित्सक संघले २०८३ असोज ६ गते जारी गरेको विज्ञप्तिमा २०८३ भदौ ३१ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनमा रहेका आवासीय चिकित्सकका मागप्रति कलेज व्यवस्थापन गम्भीर नभएको जनाएको हो । आवासीय चिकित्सकहरूले उठाएका मागका विषयमा व्यवस्थापन पक्षसँग छलफल भए पनि त्यसको उचित सम्बोधन हुन नसकेको संघको भनाइ छ ।

संघका अनुसार चिकित्सा शास्त्र अध्ययनरत आवासीय चिकित्सकहरू अहोरात्र सेवामा खटिनुपर्ने अवस्थामा उनीहरूको ड्युटी आवर, तलब–भत्ता तथा अन्य सुविधामा एकरूपता छैन । त्यस्ता विषयलाई वैज्ञानिक ढंगले व्यवस्थापन नगरिएको र चिकित्सकमाथि अन्यायपूर्ण रूपमा अनावश्यक कारबाहीसमेत गरिएको संघको आरोप छ ।

आवासीय चिकित्सकले अध्ययनसँगै अस्पतालमा नियमित सेवा दिनुपर्ने भए पनि काम गर्ने समय, पारिश्रमिक तथा सुविधाका विषयमा स्पष्ट र व्यवस्थित व्यवस्था हुनुपर्ने संघको धारणा छ । चिकित्सकले उठाएका माग सम्बोधन गर्नुको सट्टा कारबाही गर्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने संघले जनाएको छ ।
नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूले अघि सारेका मागलाई ‘जायज’ भन्दै तत्काल सम्बोधन गर्न कलेज प्रशासनसँग जोडदार माग गरेको छ । चिकित्सकका मागको उचित सम्बोधन नभए संघ कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

संघले आवासीय चिकित्सकको समस्या समाधानका लागि कलेज व्यवस्थापन र चिकित्सकबीच आवश्यक संवाद तथा सहमतिको वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । चिकित्सकहरूलाई काम गर्ने अनुकूल वातावरण, स्पष्ट ड्युटी व्यवस्था र तलब–भत्तालगायत सुविधामा समानता कायम गर्नुपर्ने संघको माग छ ।

आवासीय चिकित्सकहरू अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने भएकाले उनीहरूको श्रम र सेवासँग सम्बन्धित विषयलाई बेवास्ता गर्दा त्यसको प्रभाव स्वास्थ्य सेवा प्रवाहमा समेत पर्न सक्ने देखिन्छ । त्यसैले चिकित्सकका मागलाई समयमै सम्बोधन गरी अस्पतालको नियमित सेवा वातावरण सहज बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

नेपाल चिकित्सक संघले विज्ञप्तिमार्फत आवासीय चिकित्सकका माग सम्बोधन नगरे थप कदम चाल्ने स्पष्ट पारेको छ । संघका महासचिव डा. विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा कलेज प्रशासनलाई तत्काल समस्या समाधान गर्न आग्रह गरिएको छ ।