काठमाडौं।
बाढीबाट प्रभावित नेपाली नागरिकको राहत तथा पुनःस्थापनाका लागि उबरले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
उबरले नेपाल रेडक्रस सोसाइटीमार्फत बाढी प्रभावित समुदायका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो। सहयोग रकम आपत्कालीन सामग्री, अस्थायी बसोबास तथा प्रभावित परिवारको पुनःस्थापनामा प्रयोग गरिनेछ।
उबरले आफ्नो सेवा प्रयोग गर्ने यात्राबाट पनि बाढी राहतका लागि थप रकम सहयोग गर्ने जनाएको छ। जसअनुसार प्रत्येक उबर बाइक यात्राबाट १० रुपैयाँ र प्रत्येक उबर कार यात्राबाट २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
नेपालमा उबरको रणनीतिक साझेदार ट्याक्सीमाण्डु लगायतका फ्लीट साझेदारहरूले पनि बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाइएको छ।
उबर इन्डिया तथा दक्षिण एसियाका अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले नेपाल अहिले कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै प्रभावित समुदायको पुनःस्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएकी छन्।
उनले उबरले यातायात सेवा प्रदान गर्नुका साथै आफूले सेवा दिने समुदायलाई आवश्यक परेको समयमा सहयोग गर्ने जिम्मेवारी पनि रहेको बताइन्।
उबरले नेपालमा बाढी तथा अन्य विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्ने थप उपायहरू खोजिरहने जनाएको छ।











प्रतिक्रिया