काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कहिल्यै आणविक हतियार हुन नदिने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानमाथि दबाब बढाउँदै आफूहरू सम्झौताको पक्षमा रहेको बताएका हुन्।
ट्रम्पले अमेरिकासँग पर्याप्त मात्रामा अत्याधुनिक हतियार तथा गोला–बारुद रहेको दाबी गरे। अमेरिकासँग गोला–बारुदको अभाव रहेको भन्ने दाबीलाई उनले अस्वीकार गर्दै अमेरिकी सैन्य भण्डार तीव्र गतिमा बढिरहेको बताए।
‘अमेरिकामा गोला–बारुदको अभाव छ भन्नेहरू गलत छन्। हामीसँग यति धेरै गोला–बारुद छ कि त्यो सबै प्रयोग गर्ने कल्पनासमेत गर्न सकिँदैन,’ ट्रम्पले भने।
उनले इरानलाई आर्थिक रूपमा अलग्याउने अमेरिकी प्रयासमा अन्य देशलाई समेत सहभागी हुन आग्रह गरे। इरानसँग सम्झौता गरेर उसलाई पुनः आर्थिक तथा राष्ट्रिय रूपमा बलियो बन्ने अवसर दिने वा सैन्य कारबाहीमार्फत पूर्ण रूपमा ध्वस्त पार्ने भन्ने विकल्प आफूहरूसामु रहेको उनले बताए।
तर, इरानसँग सम्झौता गरेर समस्या समाधान गर्न सकिने विश्वास आफूले अझै राखेको ट्रम्पको भनाइ थियो।
ट्रम्पले इरानको आणविक कार्यक्रमलाई आफ्नो प्रमुख चासोका रूपमा प्रस्तुत गर्दै अमेरिकी मध्यावधि निर्वाचनको विषयले आफूलाई प्रभाव नपार्ने बताए। ‘मेरो दिमागमा एउटै कुरा छ—इरानसँग कहिल्यै आणविक हतियार हुनेछैन,’ उनले भने।
ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकाले दबाब र कूटनीतिक प्रयास दुवैलाई अघि बढाउन खोजिरहेको संकेत गरेको छ।











प्रतिक्रिया