एनएजेएफ पल्सर स्पोर्ट्स अवार्डको सर्वोत्कृष्ट खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक


काठमाडौं ।

नेपाली खेलकुद क्षेत्रको बहुप्रतीक्षित तथा प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को २३औँ संस्करणका लागि मुख्य चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार पत्रकार सम्मलेन मार्फत वर्ष २०८२ को उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा समान पाँच-पाँच जनाको मनोनयन घोषणा गरेको हो । वि.सं. २०८२ भित्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडी तथा प्रशिक्षकले गरेको उत्कृष्ट प्रदर्शन र नतिजालाई नै छनोटको मुख्य आधार बनाइएको समितिका संयोजक तथा मञ्चका सचिव अनिल मल्ल ठकुरीले जानकारी गराए ।

सार्वजनिक मनोनयन अनुसार वर्ष उत्कृष्ट पुरुष खेलाडीको होडमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य रहेका छन् । त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीतर्फ करातेकी एरिका गुरुङ, सविना श्रेष्ठ र सानुमाया थिङका साथै एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी परेका छन् । युवा खेलाडी विधामा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल तथा क्रिकेटका रौनक श्रीवास्तवबीच प्रतिस्पर्धा हुनेछ । प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल तथा नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री मनोनयनमा अटाएका छन् ।

भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियनमा आयोजना हुने यस अवार्ड समारोहमा कुल नौ विधामा खेलकर्मीहरूलाई सम्मान गरिनेछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । पिपल्स च्वाइस विधामा यसअघि नै फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आर्ट्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्लको मनोनयन भइसकेको छ । बाँकी विधा जस्तै लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने कार्यक्रमकै दिन गरिनेछ । जसका विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

देशमा हालै आएको विनाशकारी बाढी र प्राकृतिक प्रकोपको विषम स्थितिलाई ध्यानमा राख्दै यसपटकको स्पोर्ट्स अवार्डलाई ठूलो उत्सवका रूपमा नमनाई प्राकृतिक विपत्तिमा परेकाहरूप्रति समर्पित गरिने भएको छ । छनोट समितिका सदस्य तथा एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै देश पीडामा रहेको बेला खेलकुद क्षेत्र र खेलाडीका तर्फबाट ऐक्यबद्धता जनाउनु नै यस संस्करणको मुख्य सन्देश रहेको बताए । वि.सं. २०६० देखि निरन्तर आयोजना हुँदै आएको यस अवार्डलाई गोल्छा ग्रुपले मुख्य प्रायोजन गरेको छ भने नासा सेक्युरिटिज, सूर्य नेपाल, आइएमई बाई खल्ती, रोयल सिंगी होटल, केल्मी लगायतका विभिन्न संस्थाहरूको सहप्रायोजन र सहयोग रहेको छ ।