रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन अस्पतालदेखि सडकसम्म भौतारिन थालेका छन्। बाढीमा हराएका व्यक्तिको खोजीका लागि आफन्तले उनीहरूका तस्बिरसहितका पोस्टर अस्पतालका भित्तामा टाँसेर खोजी गरिरहेका छन्।
बाढी आएको दुई–तीन दिनदेखि नै आफन्त तथा परिवारजनहरू बेपत्ता भएका व्यक्तिको तस्बिर बोकेर अस्पताल पुग्ने र भित्तामा टाँसेर खोजी गर्ने क्रम जारी छ। काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालका भित्ताहरू अहिले बाढीपछि हराइरहेका व्यक्तिका तस्बिर र विवरणले भरिएका छन्।
बाढीपछि सम्पर्कविहीन भएका आफ्ना परिवारका सदस्य अस्पतालमा फेला पर्न सक्ने आशामा आफन्तहरू दिनहुँ अस्पताल पुगिरहेका छन्। उनीहरूले तस्बिरसँगै नाम, उमेर, ठेगाना र अन्य पहिचान खुल्ने विवरणसमेत राखेर खोजी गरिरहेका छन्।
अस्पतालका भित्तामा टाँसिएका ती पोस्टरमा एउटै परिवारका सदस्यदेखि बालबालिका, महिला तथा पुरुषसम्मका तस्बिर छन्। कतिपय परिवारले आफन्तको अवस्था पत्ता लाग्ने आशामा अस्पतालमा घण्टौँ बिताउने गरेका छन्।
बाढीमा परी हराएका व्यक्तिको यकिन विवरण संकलन गर्ने र पहिचान गर्ने कामसमेत चुनौतीपूर्ण बनेको छ। हालसम्म २ हजार ४ सयभन्दा बढी व्यक्ति हराएको विवरण दर्ता भएको जनाइएको छ। बेपत्ता भएकाको खोजी तथा सम्भावित शवको पहिचानका लागि विभिन्न अस्पताल र सम्बन्धित निकायले विवरण संकलन गरिरहेका छन्।
बाढीपछि आफन्त गुमाएका परिवारका लागि प्रत्येक अस्पतालको ढोका आशा र पीडाको केन्द्र बनेको छ। कोही अस्पतालमा आफन्त भेटिने आशामा तस्बिर खोजिरहेका छन् भने कोही आफूले टाँसेको तस्बिरमा कुनै सकारात्मक खबर आउने प्रतीक्षामा छन्।











प्रतिक्रिया