काठमाडौं ।
नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रबिन्द्र धान्तले ‘रोड टू यूएफसी सिजन ५’ को ब्यान्टमवेट विधाको फाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन् ।
चीनको सांघाईमा आयोजित सेमिफाइनल भिडन्तमा धान्तले न्युजिल्यान्डका अहिलेसम्म अपराजित फाइटर कासिब मर्डकलाई कडा र तनावपूर्ण प्रतिस्पर्धाबीच पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएका हुन । तीन राउन्डको रोमाञ्चक भिडन्तपछि नतिजा ‘स्प्लिट डिसिजन’ का आधारमा धान्तको पक्षमा आएको थियो । खेलका तीनमध्ये दुई जना निर्णायक (जज) ले धान्तको पक्षमा २९-२८ को स्कोर दिँदा एक जना निर्णायकले मर्डकको पक्षमा २८-२९ को अंक दिएका थिए । दुई जजको समर्थन पाएसँगै धान्तले न्युजिल्यान्डाली फाइटरको अपराजित यात्रामा पूर्णविराम लगाउँदै फाइनलको यात्रा तय गरे ।
यो जितसँगै धान्त विश्वकै सर्वोच्च मिक्स्ड मार्शल आर्ट्स संस्था यूएफसीको मुख्य रोस्टरमा पुग्ने पहिलो नेपाली फाइटर बन्ने ऐतिहासिक लक्ष्यको एकदमै नजिक पुगेका छन् । यूएफसीका अनुसार, ‘रोड टू यूएफसी’ को फाइनल जित्ने खेलाडीले संस्थासँग बहु-फाइट (मल्टि फाइट) सम्झौता प्राप्त गर्नेछन् । व्यावसायिक एमएमएमा १०-१ को सानदार रेकर्ड बनाएका धान्तका लागि यो सम्झौता नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धि हुनेछ । धान्तले अब फाइनलमा जापानी प्रतिद्वन्दीसँग खेल्नेछ । फाइनलसम्मको यात्रामा धान्तले यसअघि मे महिनामा सम्पन्न क्वार्टरफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउट (टीकेओ) गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका थिए । निरन्तरको उत्कृष्ट प्रदर्शनले अब उनलाई यूएफसीको मुख्य मञ्चमा पुर्याउन केवल एक जितको दूरीमा उभ्याएको छ ।











प्रतिक्रिया