काठमाडौं ।
स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए।
उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए। नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्रा भएको उल्लेख गर्दै उनले नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको भन्दै उपराष्ट्रपति यादवले नेपालका व्यवसायीले पनि यस परिवर्तनलाई चुनौतीभन्दा अवसरका रूपमा लिनुपर्ने बताए।
अर्थतन्त्र पुनःसंरचनाको आवश्यकता : श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसायको अवस्था कमजोर बनेको बताए। बजारमा माग बढ्न नसक्दा व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको उनको भनाइ छ।
उनले आफ्नो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी–व्यवसायीको यस्तो कमजोर मनस्थिति यसअघि कहिल्यै नदेखेको बताए।
अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै श्रेष्ठले स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए। आगामी १० वर्षपछि नेपालले जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले अहिले नै देशभित्र उद्योग स्थापना गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

श्रेष्ठले अटोमोबाइल क्षेत्रमा स्पेयर पार्ट्स उत्पादनको सम्भावनालाई समेत अघि बढाउनुपर्ने बताए। स्पेयर पार्ट्स नेपालमै उत्पादन गर्ने प्रयास गर्नुपर्ने भन्दै उनले निजी क्षेत्रले सरकारको लक्ष्यमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
व्यवसाय सञ्चालनमा कठिनाइ बढिरहेको अवस्थामा नीतिगत स्थिरता र लगानीमैत्री वातावरण आवश्यक रहेको उनले बताए।
अटोमोबाइल क्षेत्रलाई व्यापारमा मात्रै सीमित गर्न नहुने : उप्रेती
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा मात्र हेर्न नहुने बताए।
यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको बताए।
उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए। करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे।
सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने बताए।
अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र आवश्यक
अध्यक्ष उप्रेतीले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए। उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढ्दै गए पनि प्रदर्शनी पूर्वाधार सोहीअनुसार विकास हुन नसकेको उनको भनाइ छ।
भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएको भन्दै उनले स्थान अभावका कारण ट्रक, बस तथा हेभी इक्विपमेन्टलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको बताए।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना अघि सारिएको उल्लेख गर्दै उप्रेतीले उक्त योजना छिटो कार्यान्वयन गरी अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए।
विद्युतीय सवारीलाई अवसरका रूपमा लिनुपर्ने
नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ। स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा भविष्यमा थप सम्भावना खोज्न सकिने भन्दै उप्रेतीले सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ मा विभिन्न अटोमोबाइल कम्पनी तथा व्यवसायीका उत्पादन र प्रविधि प्रदर्शनीमा राखिएका छन्।











प्रतिक्रिया