सरकारी विज्ञापनमा समान व्यवहार गर्न माग


काठमाडौं, (नेस) ।

सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन विज्ञापन चक्रमा सुधार गर्ने बताउनुभएको छ ।

राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीसँगको भेटमा मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा विगतमा देखिएका आर्थिक अनियमितता दोहोरिन नदिन विज्ञापनदाता, एजेन्सी, सञ्चारमाध्यम र नियामक सबै पक्ष जिम्मेवार र पारदर्शी हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय विज्ञापन नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै डिजिटल माध्यमको विस्तार र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई व्यवस्थित बनाउने उहाँको भनाइ छ । भेटमा संघले कोभिड–१९ पछि विज्ञापन व्यवसायमा परेको असर तथा एजेन्सीले भोग्दै आएका कानुनी र नीतिगत समस्याबारे सरकारको ध्यानाकर्षण गराएको थियो । संघले विज्ञापन एजेन्सीले रोजगारी सिर्जना र व्यापार प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको जनाएको छ ।

संंघले ध्यानाकर्षण पत्र बुझाउँदै सर्वोच्चको आदेशअनुसार सरकारी तथा निजी सञ्चार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीको संरक्षणका लागि आवश्यक निर्देशन जारी गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत चैत १८ गते सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र दिने निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले २०८३ असार ३० गते उत्प्रेषणको आदेश जारी गर्दै निर्णय बदर गरेको थियो ।
नानका अनुसार उक्त निर्णय विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा प्रेस स्वतन्त्रता र समानताको हकविपरीत थियो । संघले अदालतको फैसलाको मर्मअनुसार विज्ञापन बजारलाई समान र प्रतिस्पर्धी बनाउन माग गरेको छ ।