महासंघद्वारा एसियाड बक्सिंग टोलीको वैदेशिक प्रशिक्षणको स्थलगत निरीक्षण


काठमाडौं । 

नेपाल बक्सिंग महासंघका पदाधिकारीले २० औँ एसियाली खेलकुद प्रतियोगिताको पूर्वतयारी स्वरूप भारतको गुवाहाटी, आसाममा उच्चस्तरीय वैदेशिक बन्द प्रशिक्षणमा ब्यस्त नेपाली बक्सिङ टोलीको  स्थलगत निरिक्षण गरेका छन । 

गुवाहाटीमा सञ्चालित उक्त बन्द प्रशिक्षण शिविरको नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखु, बागमती प्रदेश बक्सिङ सङ्घका अध्यक्ष रामचन्द्र थापामगर, अन्तर्राष्ट्रिय निर्णायक सन्तोष आले मगर तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रमेशदास श्रेष्ठ सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डलले स्थलगत निरीक्षण एवं अनुगमन गरेका हुन । अनुगमनका क्रममा प्रतिनिधिमण्डलले एसएआईको अत्याधुनिक खेल पूर्वाधारमा भइरहेको प्राविधिक सेसन, स्पारिङ, खेलाडीहरूको शारीरिक फिटनेस, डाइट तथा स्वास्थ्य अवस्थाको प्रत्यक्ष अवलोकन गर्नुका साथै प्रशिक्षकहरूसँग खेलाडीको प्रदर्शन र तयारी रणनीतिका विषयमा गहन छलफल गरेको छ । निरीक्षणका क्रममा पदाधिकारीहरूले खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणको अधिकतम उपयोग गर्दै आगामी एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक पदक दिलाउने लक्ष्यका साथ प्रस्तुत हुन प्रोत्साहन र शुभकामना व्यक्त गरेका छन् ।

एसएआईको उच्चस्तरीय प्राविधिक वातावरणमा भइरहेको यो प्रशिक्षणले नेपाली बक्सिङ टोलीको क्षमता अभिवृद्धि गरी उत्कृष्ट नतिजा ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने महासङ्घले विश्वास लिएको छ । महासङ्घले आगामी दिनमा पनि यस्ता प्रशिक्षणलाई निरन्तरता दिन सम्झौता गर्ने तयारी गरेको छ । सोही अवसरमा महासचिव भण्डारीको समन्वयमा तथा अमेरिका निवासी बक्सिङ प्रशिक्षक ध्रुवलाल श्रेष्ठ र विजय सिंह डङ्गोलको प्रायोजनमा नेपाली टोलीलाई टिसर्ट र ट्र्याकसूट वितरण गरिएको छ । साथै, प्रशिक्षणकै निरन्तरताका रूपमा अगस्ट २४ देखि २८ सम्म आसाम र मेघालय राज्यका बक्सिङ खेलाडीहरूसँग नेपाली बक्सिङ टोलीको ५ दिने मैत्रीपूर्ण खेल समेत सञ्चालन भइरहेको छ ।

स्पोर्ट्स अथोरिटी अफ इन्डिया (एसएआई) को आसामस्थित क्षेत्रीय कार्यालयको विशेष समन्वय तथा प्राविधिक सहयोगमा सञ्चालित उक्त क्लोज क्याम्पमा ३ महिला र ४ पुरुष गरी ७ खेलाडी तथा ३ प्रशिक्षकसहित ९ जनाको टोली सहभागी छ । नेपाली मुलका भारतका पूर्व हेड कोच नरेन्द्र राना सहित नेपाली टोलीका मुख्य प्रशिक्षक राज श्रेष्ठ र प्रशिक्षक दिपक महर्जनको नेतृत्वमा रहेको टोलीमा महिलातर्फ रमिशा श्रेष्ठ (५१ केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) तथा पुरुषतर्फ चन्द्रबहादुर थापा (५४ केजी), खगेन्द्र रोका मगर (६० केजी), दानबहादुर दर्लामी मगर (७० केजी) र रबिन नेपाल (९० केजी) रहेका छन् ।