लन्डन, (एजेन्सी) ।
ब्राजिलका फुुटबल लिजेन्ड रोबर्टो कार्लोसले धर्म परिवर्तन गरी इस्लाम अपनाएको भन्दै फैलिएको सामाजिक सञ्जाल र टर्कीका सञ्चारमाध्यमहरूको दाबीलाई खण्डन गरेका छन् ।
मोरक्कन मूलकी स्पेनी नागरिक तथा फिफा सूचीकृत एजेन्ट सुहैला एल ताहीरीसँग विवाह गरेपछि कार्लोसले ब्राजिलका प्रभावशाली मुस्लिम धर्मगुरु शेख जिहाद हमादामार्फत ‘शहादा’ वाचन गरी धर्म परिवर्तन गरेको खबर बाहिरिएको थियो । टर्कीका सांसद अली शाहिनले सामाजिक सञ्जालमा यसबारे बधाई सन्देश पोस्ट गरेपछि र उनीहरूको वैवाहिक समारोहका तस्बिरहरू भाइरल भएपछि यो विषयले थप चर्चा पाएको थियो ।
तर, ५३ वर्षीय पूर्व डिफेन्डर कार्लोसले साउदी अखबार ‘ओकेज’ सँग कुरा गर्दै आफूले इस्लाम धर्म नअपनाएको र बाहिरिएका दाबीहरू पूर्ण रूपमा असत्य रहेको प्रस्ट पारेका छन् । इस्लाम धर्मप्रति आफ्नो उच्च सम्मान रहेको र आफ्नी पत्नीले प्रार्थना गरेको हेर्न पाउँदा खुसी लाग्ने बताएका उनले आफ्नो पारिवारिक र सामाजिक विविधतालाई सम्मान गर्न विभिन्न धार्मिक परम्पराअनुसार विवाहका समारोह आयोजना गरिएको स्पष्ट पारे ।
क्याथोलिक धर्म मान्ने आफ्ना परिवारका सदस्यहरू तथा पत्नीको मुस्लिम समुदाय दुवैको आस्थालाई कदर गर्दै विवाहका संस्कारहरू अपनाइएको तर आफूले धर्म परिवर्तन नगरेको भन्दै उनले विश्वभरका प्रशंसकहरूमाझ फैलिएको द्विविधाको अन्त्य गरिदिएका छन् ।











प्रतिक्रिया