काठमाडौं ।
भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा पनामा झण्डा भएको ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ। जहाजमा सवार २४ चालक दलका सदस्यमध्ये दुई जनालाई लाइफ र्याफ्टबाट जीवितै उद्धार गरिएको छ भने २२ जना अझै बेपत्ता छन्। भारतीय तटरक्षक बलका अनुसार जहाजसँग सम्पर्क विच्छेद भएपछि शनिबार बिहान ११ः४८ बजे समुद्री उद्धार समन्वय केन्द्र (MRCC) मा जानकारी पुगेको थियो। त्यसलगत्तै भारतीय तटरक्षक बल र नौसेनाले खोज तथा उद्धार अभियान सुरु गरेका थिए।
नजिकै रहेका व्यावसायिक जहाजलाई समेत उद्धारमा सहयोग गर्न परिचालन गरिएको थियो। उद्धार अभियानका क्रममा एमटी आइसोपोस नामक नजिकैको जहाजले दुईवटा लाइफ र्याफ्टबाट दुई जनालाई उद्धार गरेको भारतीय तटरक्षक बलले जनाएको छ। खोजीका लागि तटरक्षक बलका आईसीजीएस वरद, आईसीजीएस अनमोल र आईसीजीएस विजित परिचालन गरिएका छन्। अधिकारीहरूका अनुसार जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक थिए।
जहाजले ओडिशाको पारादीपबाट करिब ७२ हजार १०० मेट्रिक टन फलामे अयस्क बोकेर सिंगापुरतर्फ यात्रा गरिरहेको थियो। यो अगस्ट २० को राति पारादीपबाट छुटेको थियो। जहाजसँग सम्पर्क विच्छेद हुनु र त्यसपछि डुब्नुको ठ्याक्कै कारण अझै खुलेको छैन। भारतीय अधिकारीहरूले खोज तथा उद्धार अभियानलाई तीव्र बनाएका छन्। समुद्रमा बाँकी २२ चालक दलका सदस्यको अवस्था पत्ता लगाउन आसपासका जहाजहरूलाई समेत परिचालन गरिएको छ।











प्रतिक्रिया