नारी संवेदना र देशप्रेममा उमाको सिर्जना


नारी संवेदना, देशप्रेम र प्रेमका अनुभूतिलाई सिर्जनामार्फत प्रस्तुत गर्दै आएकी कवि तथा गीतकार उमा श्रेष्ठको दुई नया गीतका म्युजिक भिडियोका साथमा कवितासंग्रह मौन छ देश सार्वजनिक गरिएको छ।

तीजको परिवेशमा तयार पारिएको नाचौ छमछमीमा उमा श्रेष्ठ र सुमित खड्काको स्वर छ। विपिन आचार्यको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो। त्यस्तै ए माया लाउ“छौ कि गीतमा उमाकै शब्द, संगीत र स्वर रहेको छ। गीतमा सुमित खड्काले स्वरमा साथ दिएका छन्। दुवै गीतका म्युजिक भिडियो उमा श्रेष्ठको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

उमाले मौन छ देशमा व्यक्तिगत अनुभूति र सामाजिक परिवेशस“गै देशको विगत र वर्तमानलाई समेत कवितामार्फत प्रस्तुत गरेकी छन्। कवितासंग्रह सार्वजनिक कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले संग्रहमा नारी संवेदना, देशप्रेम र मायाप्रेमलाई शब्दशिल्पमार्फत अभिव्यक्त गरिएको बताए। ब्राइड एकेडेमी एण्ड मिडिया प्रालिको आयोजनामा राजधानीमा सम्पन्न कार्यक्रममा उमाले कविता लेखन र गीतसंगीतको यात्राका अनुभव सुनाइन्।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले उमाका सिर्जना आफूलाई प्रभावित बनाउने खालका रहेको बताए। गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाले पनि उनका सिर्जना अब्बल रहेको उल्लेख गर्दै गायन र संगीत सिर्जनाको यात्रामा सफलताको शुभकामना दिए।

प्रमुख अतिथि कवि तथा गीतकार चूडामणि देवकोटाले उमालाई सिर्जनाको नया“ यात्राका लागि शुभकामना दिए। कार्यक्रम गीतकार तथा पत्रकार सुमन पण्डितले सञ्चालन गरेका थिए।