रश्मीको गोलमा ट्रान्सपोर्टको लगातार दोस्रो जित


काठमाडौं

नेपाली खेलाडीहरू सम्मिलित ट्रान्सपोर्ट यूनाइटेड लेडिज एफसीले भुटानी राष्ट्रिय महिला लिग ‘टियर १’ मा लगातार दोस्रो जित हासिल गरेको छ । टोलीको यो चौथो खेलमा दोस्रो जित हो ।

मंगलबारको खेलमा ट्रान्सपोर्ट युनाइटेडले गेलेफु गल्र्स युनाइटेड (यु–२०) लाई ६–० ले हराएको हो । ट्रान्सपोर्टका लागि नेपाली खेलाडी रश्मीकुमारी घिसिङले सर्वाधिक दुई गोल गरिन् ।

रश्मीले यसअघिको खेलमा युगेन एकेडेमी वुमन्स एफसीविरुद्ध दोहोरो ह्याट्रिक गरेकी थिइन् । उनको सानदार खेलको सहयोगमा त्यो खेलमा उनको टोलीले ८–० को फराकिलो जित निकालेको थियो । उनले लगातार दोस्रोपटक उत्कृष्ट खेलाडीको पुरस्कार पनि प्राप्त गरिन् ।

गेलेफुविरुद्ध अन्य ३ गोल पनि नेपाली खेलाडीहरूकै नाममा रह्यो । जसमा, अनिता केसी, मीना देउवा र दीपा शाहीले समान एक गोल गरेका थिए । एक गोल भने टासी वाङ्मोको नाममा रह्यो ।