माग बढेपछि बढ्यो अण्डाको समर्थन मूल्य

1.5k
Shares

चितवन।

बजारमा अण्डाको माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ । सङ्घले बजारमा पछिल्लो समय अण्डाको माग बढेको तथा उत्पादन घटेकाले किसानलाई राहत पुग्ने गरी नयाँ समर्थन मूल्य निर्धारण गरेको जनाएको छ ।

सङ्घका अनुसार मंगलबारदेखि लागू हुने गरी एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट ५ सय ६० रुपैयाँ कायम गरिएको छ । यसैगरी ठूलो आकारको अण्डा प्रतिक्रेट ५ सय ४५ रुपैयाँ, मिडियम अण्डा ५ सय रुपैयाँ तथा सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । एउटा पेटीमा सात क्रेट अर्थात् २ सय १० वटा अण्डा हुन्छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आए पनि त्यसका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेका कारण अण्डाको उत्पादन घटेको बताउनुभयो । उत्पादनमा आएको कमी र बजारमा अण्डाको माग बढ्दा पछिल्लो समय मूल्यमा वृद्धि भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार विभिन्न फार्मबाट प्राप्त हुने बजार मूल्य तथा उत्पादनको अवस्थालाई आधार बनाएर सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । “अण्डाको माग बढेको छ तर उत्पादन पहिलेको तुलनामा घटेको छ,” उहाँले भन्नुभयो, “यसैलाई आधार बनाएर समर्थन मूल्य केही बढाइएको हो ।”

तर अण्डाको समर्थन मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको सङ्घको भनाइ छ । पोखरेलका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत पर्ने गरेको छ । उक्त लागतलाई आधार मान्दा एक क्रेट अण्डाको उत्पादन लागत ५ सय ७३ रुपैयाँ ६० पैसा पुग्छ । त्यसको तुलनामा निर्धारण गरिएको समर्थन मूल्य अझै कम रहेको किसानको गुनासो छ ।

अण्डा उत्पादनमा प्रयोग हुने दाना, औषधि, श्रमिक, विद्युत्, कुखुराको व्यवस्थापन तथा अन्य खर्च बढ्दै गए पनि उत्पादन लागतअनुसार बजार मूल्य नपाउँदा किसान समस्यामा परेको व्यवसायी बताउँछन् । पछिल्ला केही वर्षदेखि अण्डाको मूल्यमा हुने उतारचढावका कारण धेरै किसानले कुखुरापालन व्यवसाय छाड्न थालेका छन् ।

विशेषगरी बर्डफ्लुका कारण भएको क्षतिले किसानको आर्थिक अवस्था थप कमजोर बनाएको छ । रोगका कारण कुखुरा मर्नु, उत्पादन घट्नु तथा बजारमा अण्डाको मूल्य नपाउनुजस्ता समस्याले किसान दोहोरो मारमा परेका छन् ।

बर्डफ्लुका कारण कतिपय किसानका फार्ममा ठूलो सङ्ख्यामा कुखुरा मरेका थिए । कुखुरा बाँचेका किसानले समेत लामो समयसम्म अण्डाको उचित मूल्य नपाउँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उत्पादन घट्दै जाने, रोगको जोखिम बढ्ने र बजार मूल्यमा स्थिरता नहुने अवस्थाले किसान बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको दबाबमा पर्दै गएको व्यवसायीको भनाइ छ । कुखुरापालनमा गरिएको लगानी ठूलो हुने भएकाले उत्पादनमा सामान्य गिरावट आउँदा पनि किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने गरेको छ ।

व्यवसायीहरूले अण्डाको मूल्य निर्धारण गर्दा किसानको वास्तविक उत्पादन लागतलाई आधार बनाउनुपर्ने माग गर्दै आएका छन् । उत्पादन लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपर्ने अवस्था लामो समयसम्म कायम रहेमा व्यवसायबाट थप किसान विस्थापित हुनसक्ने उनीहरूको चेतावनी छ ।

नेपालमा अण्डाको उत्पादन तथा बजार व्यवस्थापनमा देखिँदै आएको अस्थिरता समाधान गर्न उत्पादन, बजार र मूल्य निर्धारणबीच समन्वय आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ । बर्डफ्लुजस्ता रोगको जोखिम न्यूनीकरण, उत्पादन लागत घटाउने उपाय र किसानले उचित मूल्य पाउने व्यवस्था गर्न सके मात्रै अण्डा उत्पादन व्यवसायलाई दिगो बनाउन सकिने उनीहरू बताउँछन् ।