लन्डन, (एजेन्सी)
स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यानचेस्टर सिटीबाट आफ्नै देशको क्लब बार्सिलोनामा आबद्ध हुने भएका छन् ।
म्यानचेस्टर सिटी र बार्सिलोनाबीच ३० वर्षीय रोड्रीको स्थानान्तरणका लागि ६५ मिलियन पाउन्डमा सहमति भएको बताइएको छ । सिटी र बार्सिलोनाले भने हालसम्म स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
रोड्री सन् २०१९ मा एटलेटिको मेड्रिडबाट सिटी पुगेका थिए । उनले सन् २०२३ मा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाएका थिए ।
सिटीमा रहँदा उनले १२ प्रमुख उपाधि जित्न सफल भए । जसमा मुख्य रुपमा २०२० देखि २०२३ सम्मको लगातार चार प्रिमियर लिग र २०२२–२३ को च्याम्पियन्स लिग उपाधि सम्मिलित छन् ।
यो उपलब्धिको अर्को वर्ष सन् २०२४ मा रोड्रीले बालोन डी’ओर जित्दै विश्वकै उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्न सफल भए । गत महिना सम्पन्न विश्वकपमा स्पेनलाई उपाधि दिलाउने क्रममा रोड्रीको भुमिका महत्वपूर्ण रह्यो ।
प्रतियोगिताभरि मात्र एक गोल (बेल्जियमसँग) बेहोरेर स्पेनलाई उपाधि दिलाउन रोड्रीले ठूलो सहयोग गरेका थिए । यही वापत उनले लियोनेल मेसीलाई पछि पारेर प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ जितेका थिए ।











प्रतिक्रिया