आर्सेनलले जित्यो कम्युनिटी शील्ड


लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सेनलले म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदैं कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सेनललाई उपाधि दिलाउन रिकार्डो कालाफिओरी, काइ हाभत्र्ज र ओडेगार्डले गोल गरेका थिए ।

आर्सेनलले खेल सुरु भएको २३ सेकेन्डमै १–० को अग्रता लिएका थिए । रिकार्डोले माइल्स लुइस स्केलीको पासमा गोल गरेर टोलीलाई अग्रतामा राखेका थिए । यस्तै, हाभत्र्जले २८ औं मिनेटमा गोल गरेर टोलीको अग्रता दोब्बरमा पारेका थिए । दोस्रो हाफमा ओडेगार्डले गोल गरेपछि आर्सेनलको उपाधि पक्का भएको थियो ।
एफए कप विजेता सिटीमाथिको जितसँगै आर्सनलले पछिल्लो चार महिनामा दोस्रो उपाधि जितेको हो । आर्सनलको यो समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधिसमेत हो । हरेक सिजनमा खेलिने कम्युनिटि शील्ड प्रतियोगिता प्रिमियर लिग र एफए कप विजेता टोलीहरूबीच प्रतिस्पर्धा हुने गर्दछ ।