चितवन ।
इन्फिनिटी लघुवित्तले आफ्ना फिल्ड सहायक कर्मचारीहरूलाई वर्तमान जिम्मेवारीमा अझ सक्षम बनाउँदै भविष्यमा संस्थाको नेतृत्व सम्हाल्न सक्ने दक्ष र आत्मविश्वासी जनशक्तिका रूपमा विकास गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । गत श्रावण ३० गते सौराह स्थित पार्क सफारी रिसोर्टमा आयोजित कार्यक्रममा संस्थाका १०२ वटै शाखामा कार्यरत १२० जना फिल्ड सहायकहरूको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक शेयरधनी दिनेश अधिकारी प्रमुख अतिथि तथा नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन नायव प्रवन्धक कृष्ण खनालले गर्नु भएको थियो ।
कार्यक्रमको मूल भाव ‘Empowered Today, Leading Tomorrow’ लाई व्यवहारमा रूपान्तरण गर्दै सहभागी फिल्ड सहायकहरूको ज्ञान, सीप, नेतृत्व क्षमता, निर्णय क्षमता तथा व्यावसायिक सोचको विकासमा विशेष जोड दिइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश अधिकारीले फिल्ड सहायकहरू नै संस्था र सदस्यबीचको प्रत्यक्ष सम्पर्कमा रहने महत्वपूर्ण जनशक्ति भएकाले आफूलाई समयानुकूल सक्षम बनाउँदै लैजान आग्रह गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले जिम्मेवारी, अनुशासन र परिणाममुखी कार्यशैलीका माध्यमबाट संस्थालाई थप सशक्त बनाउन कर्मचारीहरूलाई प्रेरित गर्दै क्षमतावान कर्मचारीलाई संस्थाभित्रै विकास गरी नेतृत्वको अवसर प्रदान गर्ने नीति रहेको बताउनुभयो । नायव प्रमुख कार्यकारी अधिकृत विश्वराज श्रेष्ठले भावी नेतृत्वकर्ता बन्न फिल्ड सहायकहरूले आफूलाई निरन्तर सिकाइ, सकारात्मक सोच, प्रभावकारी सञ्चार, समस्या समाधान र नेतृत्वदायी व्यवहारमा विकास गर्दै लैजानुपर्ने विषयमा मार्गदर्शन प्रदान गर्नुभयो ।
तालिमका क्रममा जोखिम तथा असुली विभाग प्रमुख कृष्ण खनाल, कर्जा विभाग प्रमुख अमरनाथ सेढाई, अनुगमन विभाग प्रमुख कुशल खनाल, वित्त तथा सञ्चालन विभाग प्रमुख रितु बानियाँ, आन्तरिक लेखापरीक्षण विभाग प्रमुख दिपक न्यौपाने, जनशक्ति विभाग प्रमुख प्रकाश श्रेष्ठ तथा आईटी विभागबाट रक्षा गौतमले आ–आफ्नो विषयगत क्षेत्रसँग सम्बन्धित क्षमता अभिवृद्धिमूलक प्रशिक्षण प्रदान गर्नुभएको थियो । ज्ञान, अनुभव तथा उत्कृष्ट अभ्यासहरूको आदान–प्रदानले सहभागीहरूको व्यावसायिक क्षमता र नेतृत्वदायी सोच विकासमा सहयोग पुगेको सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
फिल्ड सहायकहरूको क्षमता विकासलाई चरणबद्ध रूपमा अगाडि बढाउने योजना अनुरूप यो पहिलो चरणको कार्यक्रम रहेको र आगामी चरणमा बाँकी फिल्ड सहायकहरूलाई समेत समेट्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।











प्रतिक्रिया