काठमाडौँ ।
नेपाली खेलकुदको इतिहासमा पहिलोपटक बक्सिङ खेलाडीको जन्मजात जैविक लिङ्ग (बायोलोजिकल जेन्डर) प्रमाणीकरण परीक्षण गरिएको छ ।
आगामी सेप्टेम्बर १९ देखि सुरु हुने २०औँ एसियाली खेलकुदको तयारीका क्रममा भारतको गुवाहाटीमा वैदेशिक प्रशिक्षणमा रहेका नेपाली बक्सिङ खेलाडीहरूको शुक्रबार वंशाणुगत (पीसीआर/डीएनए) परीक्षण गराइएको हो। नेपाल बक्सिङ महासङ्घका महासचिव मान भण्डारीका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को मातहतमा हुने प्रतियोगिताहरू तथा आगामी एसियाली खेलकुदमा लिङ्ग परीक्षणलाई अनिवार्य गरिएपछि नेपाली खेलाडीहरूको पनि परीक्षण गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिताको दायरालाई निष्पक्ष र सुरक्षित बनाउनका लागि गरिएको यस परीक्षणको नतिजा एक सातापछि आउने महासचिव भण्डारीले जानकारी दिए ।
नेपाली खेलकुदमा खेलाडीको जैविक लिङ्गको वैज्ञानिक परीक्षण गरी प्रमाणीकरण गरिएको यो पहिलो घटना हो । सन् २०२४ को पेरिस ओलम्पिकमा अल्जेरियाकी बक्सर इमाने खेलिफ र ताइवानकी लिन यु-टिङले स्वर्ण पदक जितेपछि महिला र पुरुष वर्गको शारीरिक क्षमता तथा जैविक भिन्नतालाई लिएर विश्व खेलकुदमा ठूलो तरङ्ग उत्पन्न भएको थियो । आईओसी र तत्कालीन अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसन (आईबीए) बिच लिङ्ग परीक्षणको मापदण्डबारे मतभेद हुँदा जैविक रूपमा पुरुष गुण वा एक्स-वाई क्रोमोसोम भएका खेलाडीले महिला विधामा पाउने भौतिक लाभ र प्रतिस्पर्धात्मक असमानताबारे अन्तर्राष्ट्रिय स्तरमा व्यापक बहस छेडिएको थियो ।
उक्त विवाद र अन्योललाई सम्बोधन गर्दै विश्व बक्सिङको नयाँ नियामक निकाय ‘वर्ल्ड बक्सिङ’ ले सन् २०२५ देखि लागू हुने गरी १८ वर्षमाथिका सबै बक्सरका लागि जन्मजात जैविक लिङ्ग निर्धारण गर्ने पीसीआर वा आनुवंशिक परीक्षण अनिवार्य गर्यो । नयाँ नियमावली अनुसार महिला वर्गमा प्रतिस्पर्धा गर्न जन्मजात जैविक रूपमा महिला (एसआरवाई जीन वा वाई क्रोमोसोम नभएको) हुनुपर्ने र सोको प्रमाणीकरण प्रतिवेदन महासंघमा बुझाउनुपर्ने कडा व्यवस्था गरिएको छ । विश्व खेलकुद महासंघहरूले लिङ्ग पात्रता (सेक्स एलिजिबिलिटी) मा अपनाएको यही कडा नीतिलाई पछ्याउँदै नेपाल बक्सिङ महासङ्घले पनि आफ्ना खेलाडीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाएको हो । यस ऐतिहासिक कदमले आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लिङ्ग विवादका कारण खेलाडी अयोग्य हुने जोखिम अन्त्य गर्दै महिला खेलकुदमा वास्तविक निष्पक्षता कायम राख्ने विश्वास लिइएको छ ।











प्रतिक्रिया