एभरेस्ट महिला भलिबल असोजमा


काठमाडौं, (नेस) ।

एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभी) को तेस्रो संस्करण आगामी असोज १५ देखि २४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

दशरथ रंगशाला कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको उक्त मितिलाई नेपाल भलिबल संघले आधिकारिक स्वीकृति प्रदान गरिसकेको जनायो । अघिल्ला दुई संस्करणको सफलता र बढ्दो लोकप्रियतापछि तेस्रो संस्करणलाई अझ भव्य, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ ।

लिगले महिला भलिबल खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको मञ्च प्रदान गर्दै नेपालमा महिला भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा योगदान पु¥याउने लक्ष्य राखेको छ । प्रतियोगितामा सात फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) आयोजना मिति पनि तय भइसकेको छ । आयोजक केडिया ग्रुपले एनभीएल आगामी भदौ १९ देखि २७ गतेसम्म राखेपको बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ । एनभीएलको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोली सहभागी हुनेछन् ।