प्रकृतिको अनुपम उपहार सान्जेन उपत्यका

376
Shares

रसुवा । रसुवा जिल्ला प्राकृतिक वैभव र अद्वितीय सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । यसै जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा अवस्थित सान्जेन भ्याली ओझेलमा परेको एउटा यस्तो उत्कृष्ट हिमाली उपत्यका हो, जहाँ पुग्ने जो–कोही यसको अलौकिक सुन्दरतामा मन्त्रमुग्ध हुन्छन् । चीनको तिब्बतसँग सिमाना जोडिएको यो क्षेत्र जैविक विविधता र प्राकृतिक संचरनाका हिसाबले निकै महत्वपूर्ण मानिन्छ ।
सान्जेन उपत्यकाको यात्रा आफैँमा एक रोमाञ्चक र साहसिक अनुभूति हो ।

पुरानो गन्तव्य तातोपानी हुँदै सान्जेन जलविद्युत् आयोजनाको बाँधस्थलसम्म सवारीसाधनमा पुग्न सकिन्छ । त्यहाँबाट शुरु हुने करिब पाँच घण्टाको पैदल यात्रा निकै अविस्मरणीय रहन्छ । यात्राको क्रममा देखिने पहाडी भूगोल, घना जंगल र तिब्बती संस्कृतिको प्रभाव झल्कने बस्तीहरूले पर्यटकको थकानलाई क्षणभरमै मेटाइदिन्छन् ।

चारैतिर गगनचुम्बी हिमाल र बीचमा रहेको सुन्दर उपत्यकाको दृश्य साँच्चिकै मनमोहक छ । यो क्षेत्र विशेष गरी ट्रेकिङका लागि उपयुक्त र उत्कृष्ट गन्तव्य हो । मनसुनको समयमा यहाँको प्रकृति अझ बढी जीवन्त र हरियाली देखिन्छ । व्यावसायिक रूपमा होटल तथा सुविधायुक्त होमस्टेहरू अझै राम्रोसँग विकास भइनसकेकाले यस क्षेत्रमा टेन्ट (क्याम्पिङ) मा बसेर यात्रा गर्नुको मजा छुट्टै हुन्छ । यहाँ पुग्ने पर्यटकले हिमाली जनजीवन, उनीहरूको रहनसहन र रैथाने संस्कृतिलाई नजिकबाट नियाल्न र महसुस गर्न पाउँछन् ।

रसुवा जिल्लामा धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलहरू अन्य पनि छन् । ती गन्तव्यहरूका बीच सान्जेन उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न सके यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । प्रकृतिको यो अनुपम उपहारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु आजको आवश्यकता हो ।

ड्याम साइटबाट केही माथि पुगेपछि बाटो दुईतिर छुटिन्छ । एउटा ज्यु सान्जेन र अर्को मे सान्जेन छ । सान्जेन भ्यालिचाहिँ मे सान्जेनतिर बाट जानुपर्ने हुन्छ । सो क्षेत्रको धेरै उचाइमा सुन्दर हिमतालहरू छन् । ओझेलमा परेको सान्जेन उपत्यकाचाहिँ प्रकृतिको काखमा रहेको छ । नयाँ गन्तव्यका रुपमा पहिचान भएको यो उपत्यका अनुपम र सुन्दर छ ।