रौतहट ।
सेवाग्रहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्र कुमार यादव अभिशाप बनेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्रकुमार यादवले सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको र नागरिकताको प्रमाणपत्र लिन आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको आरोप लागेको छ । प्रमाण तथा आवश्यक कागजात पूरा गरेर नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय गौर पुग्ने सेवाग्राहीले समेत पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था रहेको गुनासो गरेका छन् ।
सेवाग्राहीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी यादव कार्यालयमा उपस्थित हुँदा समेत समयमै सेवा प्रवाह नगर्ने तथा कार्यालयमा हाजिर गरेर बाहिरिने गरेका कारण नागरिकता तथा अन्य प्रशासनिक सेवा लिन कठिनाइ भइरहेको छ । संविधानसभा सदस्य बबन सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै रौतहटमा नागरिकता लिन सेवाग्राहीले लामो समयदेखि सास्ती खेप्नुपरेको बताउनु भएको छ । उहाँले नेपाली जनतालाई महिनौँसम्म नागरिकता लिन दुःख दिदा सरकारको मौनताले के सन्देश दिन्छ भन्दै प्रश्न गर्नु भएको छ । त्यसबेला लिन जिल्ला प्रशासन कार्यालय गौर पुग्नु भएका दुर्गा भगवती गाउँपालिका–५ का राजेश कापालले नागरिकताको प्रतिलिपि लिन सहायक प्रमुख जिल्ला अधिकारीले आफ्ना बुवाको मृत्यु दर्ता प्रमाणपत्र मागेको र त्यसका कारण आफू २० दिनदेखि दुःख पाउँदै आएको बताउनु भयो ।
दुर्गा भगवती गाउँपालिकाकी फुलकुमारी देवीले पनि नागरिकताको प्रमाणपत्र लिन एक महिनादेखि जिल्ला प्रशासन कार्यालय धाउँदा समेत सेवा पाउन नसकेको गुनासो गर्नु भएको छ । सेवाग्राहीले नागरिकता लगायतका अत्यावश्यक प्रशासनिक सेवा सहज, छिटो र पारदर्शी रूपमा उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी यादवमाथि लगाइएको आरोपबारे आधिकारिक प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहनु भएन ।











प्रतिक्रिया