लुटपाटका क्रममा घाइते युगान्डाका फुटबल कप्तान डेभिड ओवरीको निधन


काठमाडौँ।

युगान्डाका चर्चित फुटबल खेलाडी तथा एससी भिल्लाका कप्तान डेभिड ओवरीको निधन भएको छ।

राजधानी कम्पालामा मंगलबार भएको लुटपाटको क्रममा भएको आक्रमणबाट गम्भीर घाइते भएका २७ वर्षीय ओवरीको उपचारका क्रममा बुधबार मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शंकास्पद डाँकाहरूको समूहले ओवरीमाथि आक्रमण गरेको थियो। आक्रमणको प्रतिरोध गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो भने थप उपचारका लागि निजी अस्पतालमा रेफर गरिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूले ओवरीमाथि ढुंगाले प्रहार गरी घाइते बनाएका थिए। त्यसपछि उनको साथमा रहेका सामान लुटेर उनीहरू फरार भएका थिए। घटनास्थलमा ओवरी बेहोस अवस्थामा फेला परेका थिए।

ओवरीको निधनपछि युगान्डाको खेल क्षेत्र शोकमा डुबेको छ। साथै, पछिल्लो समय बढ्दै गएको हिंसात्मक अपराधप्रति सर्वसाधारणले चिन्ता र आक्रोश व्यक्त गरेका छन्।

२७ वर्षीय ओवरी युगान्डा प्रिमियर लिगको सफल क्लबमध्ये एक एससी भिल्लाका कप्तान थिए। उनले क्लबबाट राइट–ब्याक र मिडफिल्डरको भूमिकामा खेल्दै आएका थिए। उनले युगान्डाको राष्ट्रिय फुटबल टोली ‘क्रेन्स’ बाट समेत प्रतिनिधित्व गरेका थिए।

एससी भिल्लाले एक विज्ञप्ति जारी गर्दै ओवरीको निधनले आफूहरूले उत्कृष्ट खेलाडी मात्र नभई एक नेता, भाइ र साथी गुमाएको जनाएको छ।