नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त


काठमाडौं ।

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार साहलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो। साह यसअघि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। इन्धन आपूर्ति, भण्डारण तथा संस्थागत व्यवस्थापनमा अनुभव बटुलेका साह खुला प्रतिस्पर्धामार्फत अन्तिम तीन उम्मेदवारमध्ये उत्कृष्ट छनोटमा परेका थिए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि खुला प्रतिस्पर्धा गरेको थियो। उक्त प्रक्रियाबाट नागेन्द्र साहसँगै प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव अन्तिम तीन उम्मेदवारको सूचीमा परेका थिए। सरकारी स्रोतका अनुसार अनुभव, कार्यसम्पादन, प्रस्तुतीकरण र समग्र योग्यताको मूल्यांकनका आधारमा साहलाई सबैभन्दा उपयुक्त उम्मेदवार ठहर गर्दै मन्त्रिपरिषद्ले उनको नियुक्ति गरेको हो।

नवनियुक्त कार्यकारी निर्देशक साहले अब निगमको इन्धन आपूर्ति व्यवस्थापन, पेट्रोलियम पूर्वाधार विस्तार, भण्डारण क्षमता वृद्धि, सेवा प्रवाह सुधार तथा संस्थागत सुशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्। नेपाल आयल निगम मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण, वितरण र आपूर्ति व्यवस्थापन गर्ने प्रमुख सरकारी संस्था हो। पछिल्लो समय इन्धन आपूर्ति सहज राख्नुका साथै पूर्वाधार विस्तार र वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने चुनौती निगमसमक्ष रहेको छ।