सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा लागू


काठमाडौं । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लगाइएको कर्फ्यु आज बिहान ५:३० बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाइएको हो।

प्रशासनले जारी गरेको निषेधाज्ञाअनुसार तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जनाएको छ। साथै, निषेधाज्ञा अवधिभर प्रशासनको आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

निषेधाज्ञा लागू हुने क्षेत्र
• इटहरी उपमहानगरपालिका वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
• रामधुनी नगरपालिका वडा नं. १ र २ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र
• इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र
• दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र
• भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• कोशी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र
• बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्र