कांग्रेस इतर समूहले राष्ट्रिय भेलाको तयारीबारे पत्रकार सम्मेलन गर्दै


काठमाडौं ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी २९ साउनमा हुने राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

इतर समूहले चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १ः३० बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो । कार्यक्रममा राष्ट्रिय भेलाको आयोजक समिति, संयोजक चयन तथा अन्य तयारीबारे जानकारी दिइने प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले बताए ।

बीपी स्मृति दिवसको अवसर पारेर घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर समूहले १६५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ ।

भेला सफल बनाउन विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाको परिचालनका लागि जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ । नेविसंघ परिचालनको जिम्मा कुन्दनराज काफ्ले, तरुण दलको जिम्मा जीतजंग बस्नेत र महिला संघको जिम्मा उषा राउत मिश्रलाई दिइएको छ ।

त्यस्तै दलित संघ, किसान संघ, आदिवासी जनजाति, विदेश जनसम्पर्क समिति, काठमाडौं जिल्ला सम्पर्क समिति, खेलकुद र ट्रेड युनियन परिचालनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।