वर्षा र बाढीले देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध


काठमाडौँ। 

अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग र सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले शनिबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

त्यस्तै, इलामको मेची राजमार्ग वर्षाका कारण हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ भने सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ।

दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा खोलाको बहावले सडक कटान गरेको तथा रसुवाको पासाङ ल्हामु सडकखण्डमा त्रिशूली नदीले कटान गरेपछि ती सडक पनि अवरुद्ध भएका छन्।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।