काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने र पीडितले न्याय पाउने विश्वास दिलाएका छन्।
फेसबुकमार्फत प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि उक्त घटनाले मर्माहत बनाएको बताए। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
घटनाबाट प्रभावित परिवारको पीडा सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै उनले पीडितलाई यथाशीघ्र न्याय, क्षतिपूर्ति तथा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन दोषीलाई कानुनअनुसार कारबाही गरिने बताए।
प्रधानमन्त्री शाहले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको उल्लेख गर्दै त्यसबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिए। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कसैमाथि पनि कानुनभन्दा माथि नहुने गरी आवश्यक कारबाही अघि बढाइने उनको भनाइ छ।
उनले सरकारले घटनाको समग्र समीक्षा गरिरहेको र यस्ता घटना पुनः दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू तत्काल अघि बढाइरहेको बताए।
प्रधानमन्त्री शाहले मृतकका परिवार तथा घाइतेलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने उल्लेख गर्दै अनुसन्धान प्रक्रिया नसकिँदासम्म संयमता अपनाउन सबैसँग आग्रह गरे।
उनले आक्रोश, बदलाको भावना र उत्तेजनामा नबहकिन आग्रह गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई अपिल गरे। “मानिसको पहिलो धर्म मानिसको जीवन जोगाउनु हो,” भन्दै प्रधानमन्त्री शाहले सरकारको पहिलो दायित्व पनि नागरिकको सुरक्षा सुनिश्चित गर्नु र पीडितलाई न्याय दिलाउनु रहेको स्पष्ट पारे।
प्रधानमन्त्री शाहले सबैलाई शान्त, संयमित र जिम्मेवार भएर सामाजिक सद्भाव, आपसी प्रेम र सम्मान कायम राख्नसमेत आग्रह गरेका छन्।











प्रतिक्रिया