काठमाडौं ।
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणका आफ्ना सबै खेलमा पराजित हुँदै नेपाल जितविहीन बनेको छ ।
सोमबार भएको लिग चरणको अन्तिम तथा पाँचौँ खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा स्तब्ध भएसँगै प्रतियोगितामा नेपालको चुनौती लिग चरणमै सीमित बनेको हो । उज्वेकिस्तानविरुद्धको खेलमा नेपाली टोलीले पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले गुमाएको थियो । जारी प्रतियोगितामा नेपालले लिग चरणका पाँचै खेलमा हार बेहोरेको छ । प्रतिस्पर्धात्मक बनेका तीन खेलमा भने पाँचौँ सेटसम्म पुगेर पनि हार टार्न नसकेको नेपालले प्रतियोगिताभर कुल ३ अंक मात्र जोड्दै अंकतालिकाको पुछारमा चित्त बुझाएको छ ।
कुल ६ टोली सहभागी यस च्याम्पियनसिपमा लिग चरणका शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने नेपालले अब पाँचौँ स्थानका लागि प्लेअफ खेल खेल्नेछ । लिग चरणका बाँकी दुई खेलको नतिजापछि सेमिफाइनल समीकरणका साथै नेपालको प्लेअफ प्रतिद्वन्दीको पनि टुङ्गो लाग्नेछ । अंकतालिकामा घरेलु टोली पाकिस्तान सबै चार खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा कायम छ भने उज्वेकिस्तानको ९, बंगलादेशको ६, श्रीलंकाको ५ र कजाखस्तानको ४ अंक रहेको छ ।











प्रतिक्रिया