पत्रकार नारायणसुन्दर किलम्बुलाई हरिलाल – श्रीलक्ष्मी स्मृति पत्रकारिता प्रदान


भक्तपुर।

यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार नारायणसुन्दर किलम्बुलाई प्रदान गरिएको छ ।
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाको पाँचौँ अधिवेशन तथा १२ औँ साधारणसभाका अवसरमा शनिबार मध्यपुर थिमीमा आयोजित एक समारोहकाबीच पत्रकार किलम्बुलाई सम्मान गरिएको हो। भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण तथा मुलुकको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किलम्बूलाई सो पुरस्कार प्रदान गरिएको हो। सो अवसरमा प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले पत्रकार किलम्बुलाई प्रमाणपत्र र वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० हजार राशि प्रदान गर्नुभयो।

राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना माता–पिताको सम्झनामा स्थापना गरेको सो पुरस्कार यसअघि पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको थियो । पुरस्कारका संस्थापक श्रेष्ठले पत्रकारिता क्षेत्रको महत्व उजागार गर्दै पत्रकारको योगदानको कदर गरी प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो।

सो अवसरमा सांसद श्रेष्ठले लोकतन्त्रमा आफ्नो जाताजाति, जात्रा, धर्म, पर्व, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न सञ्चारमाध्यमको भूमिकाबारे केन्द्रीत गर्दै आफ्नो भनाई राख्नुभयो।सो अवसरमा पुरस्कृत व्यक्तित्व किलम्बूले दुई दशकदेखि कान्तिपुर टेलिभिजनमा आफूले भक्तपुरलगायत उपत्यकाका पहिचानका रुपमा रहेका जात्रा, पर्व तथा भाषा, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो।

मध्यपुर नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, दबूका संस्थाक श्रीकृष्ण महर्जन, केन्द्रीय प्रतिनिधि उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ र कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, दबूका भक्तपुर अध्यक्ष रामगोपाल तमखु, चाणक्य कलेज व्यवस्थापन समितिका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले समावेशी पत्रकारिता र मातृभाषाको पत्रकारिताको माध्यमबाट भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा गर्नुपर्नेमा जोडदिनुभयो।