एमबिएसको प्रश्नपत्र लिक गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन सङ्कायको एमबिएस प्रथम सेमेस्टरको परीक्षा प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्ने ३३ वर्षीय सन्दीप सिंहलाई पक्राउ गरेको जनाएको छ।

सिआइबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमबिएस प्रथम सेमेस्टरको एमजिटी ५१५ : अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएपछि प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमा साझा गरिएको थियो। त्यसपछि घटनाबारे अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा प्रश्नपत्रको गोपनीयता भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा सन्दीप सिंहलाई आइतबार (आज ) भक्तपुरको मध्यपुर थिमीबाट पक्राउ गरिएको सिआइबीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

सिआइबीले एमबिएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै बाँकी रहेकाले प्रश्नपत्र चुहावट वा यस्ता अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ।