काठमाडौं।
दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत आयोजित सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन्। काठमाडौंमा आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलनका क्रममा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका इन्टरनेट क्षेत्रका अग्रणी व्यक्तित्वलाई सम्मान प्रदान गरिएको हो।
इन्टरनेट इनेबलर्सका अनुसार इन्टरनेट सेवाको प्रारम्भिक विकास, सार्वजनिक पहुँच विस्तार तथा व्यावसायिक इन्टरनेट सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएका अभियन्ताहरूलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा नेपालका दीलिप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्ले रहेका छन्।
सम्मानित अभियन्ताहरूले इन्टरनेट आम नागरिकको दैनिक जीवनको हिस्सा बन्नुअघि नै यसको पहुँच विस्तार गर्न र व्यावसायिक सेवाको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि इन्टरनेट इनेबलर्सले नेपालका गौरवराज उपाध्यायलाई पनि एसिया–प्रशान्त क्षेत्रका अग्रणी इन्टरनेट अभियन्ताका रूपमा सम्मान गरिसकेको छ। उपाध्याय सानोगका संस्थापकसमेत हुन्।
भारतका नीरज सोनकरले सन् १९९५ मा भिएसएनएलमार्फत देशको पहिलो व्यावसायिक इन्टरनेट सेवा सुरु गर्न योगदान दिएका थिए भने सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सञ्चालन हुनुअघि नै बुलेटिन बोर्ड सिस्टममार्फत हजारौँ प्रयोगकर्तालाई अनलाइन सञ्चारसँग जोड्ने काम गरेका थिए।
त्यस्तै, बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकाससहित तीन दशकभन्दा लामो समय इन्टरनेट पूर्वाधार निर्माणमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो। भुटानका जिचेन थिन्लेलाई प्रारम्भिक इन्टरनेट सेवा र जिएसएम मोबाइल नेटवर्क विस्तारमा खेलेको भूमिकाको कदरस्वरूप सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

नेपालका दीलिप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वर्ल्डलिंकको स्थापना गरेका थिए। उनको नेतृत्वमा कम्पनीले डायल–अप इन्टरनेटबाट सुरु गर्दै मेट्रो इथरनेट हुँदै देशकै प्रमुख फाइबर–टु–द–होम (एफटिटिएच) नेटवर्कमध्ये एक निर्माण गरेको छ। हाल वर्ल्डलिंकको सेवा देशका अधिकांश जिल्लामा विस्तार भइसकेको छ र नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यसैको सञ्जालमार्फत प्रवाह हुने गरेको उल्लेख गरिएको छ। दुर्गम क्षेत्रसम्म उच्चगतिको ब्रोडब्यान्ड सेवा विस्तारमा अग्रवालको योगदान महत्वपूर्ण रहेको आयोजकको भनाइ छ।
इन्टरनेट इनेबलर्सले कोभिड–१९ महामारीपछिको पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनबाट आफ्नो अभियान सुरु गरेको हो। संस्थाले एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेटको इतिहास संरक्षण गर्नुका साथै डिजिटल पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने इन्जिनियर, नेटवर्क अपरेटर, शिक्षक तथा प्रविधि अभियन्ताहरूलाई सम्मान गर्दै आएको जनाएको छ।











प्रतिक्रिया