लिनिङ्ग पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनको मुख्य प्रायोजक


काठमाडौं । 

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा १४औं संस्करणको ‘पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता’ आगामी साउन २५ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ । 

विश्वविख्यात खेलकुद सामग्री उत्पादक कम्पनी ‘लिनिङ्ग’ ले मुख्य प्रायोजकका रूपमा सहकार्य गर्ने पक्का भएसँगै संघका महासचिव सुनिल मान शाक्यले प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भइसकेको जानकारी दिएका छन् । ललितपुरको ग्वार्कोस्थित सहआयोजक यल स्पोर्ट्स एकेडेमीमा हुने यस प्रतियोगितामा कुल १५ वटा विधामा प्रतिस्पर्धा हुनेछ, जसमा शीर्ष ८ वरीयताका महिला तथा पुरुष एकल, शीर्ष ८ बाहेकका एकल, खुला युगल, यु–११, यु–१५, यु–१९ उमेर समूहका छात्रछात्रा एकल, ३५ वर्षमाथिको खुला युगल तथा ४५ र ५५ वर्षमाथिको मास्टर्स युगल विधा समावेश छन् । 

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ६० जिल्ला र तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल) का गरी करिब ४ सय खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ भने मास्टर्स तर्फ विदेशी खेलाडीहरूलाई समेत आमन्त्रण गरिसकिएको छ । प्रतियोगितालाई थप भव्य र मर्यादित बनाउन विश्व ब्याडमिन्टन परिषद् सदस्य एवं ब्याडमिन्टन एसिया विकास समितिका प्रमुख वाजिद अली चौधरीको समेत विशेष उपस्थिति रहनेछ ।

करिब ४१ लाख ५ हजार २ सय रुपैयाँको लागत अनुमान गरिएको यस प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ७८ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा लगातार तीन संस्करण उपाधि जित्ने खेलाडीलाई उपहारस्वरूप मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । जुन उपलब्धि यसअघि प्रिन्स दाहालले हासिल गरिसकेका छन् । प्राविधिक संरचनाअनुसार शीर्ष ८ वरीयताका खेलहरू ‘लिग कम नकआउट’ प्रणालीमा खेलाइनेछ । जसमा खेलाडीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई स्थान हासिल गर्नेहरू सेमिफाइनल प्रवेश गर्नेछन् । 

लिग चरणका खेलाडीले सहभागी भएबापत १ हजार ५ सय रुपैयाँ र प्रत्येक जितबापत थप १ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष ८ तर्फका विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, अन्य उमेर समूह, खुला तथा मास्टर्स विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई नियमानुसार आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरूका लागि बिहानको खाजा र खानाको सम्पूर्ण व्यवस्था आयोजक स्वयंले गर्नेछ ।