नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने


काठमाडौं।

ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ।

बैंकका अनुसार राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एप प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरी अनलाइनमार्फत ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्नेछन्। १८ वर्ष वा सोभन्दा माथिका नागरिक एपमा आबद्ध नेपाली नागरिकले यो सुविधा उपयोग गर्न सक्नेछन्।

खाता खोल्ने क्रममा आवश्यक व्यक्तिगत विवरण नागरिकको पूर्वसहमतिमा नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने र गोपनीयता तथा सूचनाको सुरक्षा सुनिश्चित हुने बैंकले जनाएको छ। अनलाइनबाट खोलिएको खाता सञ्चालनका लागि ग्राहकले नजिकको शाखा कार्यालय वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले यो सेवाले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र प्रविधिमैत्री बैंकिङ सेवा विस्तारमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।