उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा २०८३ असार महिनामा विभिन्न प्रहरी इकाईहरु समेतमा गरेर कुल ३५ थान मुद्दा दर्ता भएको छ । दर्ता मुद्दा मध्ये गम्भिर प्रकृतिको २७ थान, जघन्य १ र सामान्य ७ वटा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले उपलब्ध गराएको विवरण अनुसार २०८३ असार महिनामा बालबालिका विरुद्धको कसुरमा ३ थान मुद्दा दर्ता भएका छन भने आर्थिक अपराधका ६ थान मुद्दा दर्ता भएकामा ३ थान ठगी र ३ थान बैकिङ कसुरको मुद्दा रहेको छ ।
चालु मुद्दाका प्रतिवादीहरु ४३ जना र फरार प्रतिवादीहरु १८ जना गरी ६१ जना पक्राउ गरि कार्वाही प्रक्रियामा लगिएको छ । सम्पति शुद्धिकरण सम्बन्धी एक थान उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
फैसला कार्यान्वयन तर्फ १६ जना प्रतिवादी पक्राउ गरी ३ वर्ष १० दिन कैद भराई जरिवाना वापतको १ लाख ८१ हजार,९सय९१ रुपैया प्रतिवादीबाट भराइएको छ ।
महिला बालबालिका तथा जेष्ठनागरिकतर्फ घरेलु हिंसाका घटनामा १३ वटा उजुरी दर्ता भएको, असारमा ३९ जना हराएकामा २२ जना महिला, ९ जना पुरुष रहेका छन भने २ बालक, ४ बालिका र २ जना जेष्ठ नागरिक हराएका थिए । हराएकामा गत महिना समेतका ७० जना फेला परेको र यस महिनामा महिलाको संख्या ४०, पुरुष १६, बालक २ बालिलका ७ र जेष्ठनागरिक ५ जना रहेका छन । असारमा हराएर असार मै ३७ जना फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घरेलु हिंसातर्फ जम्मा १२ थान मुद्दा दर्ता भएकामा शारीरिक मानसिक यातना ११ र मादक पदार्थ सेवन सम्बन्धी १ थान उजुरी परेको छ । मिलापत्रकालागि १२ थान उजुरी परेकोमा पालिका गत रुपमा गाउँपालिकाबाट ३ थान र नगरपालिकाबाट ९ थान यस्ता उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
असार महिनामा प्रत्यक्ष रुपमा प्रहरीमा ९८ वटा ठाडो उजुरी दर्ता भएकोमा ९८ वटामा नै मिलापत्र भएको छ भने जिल्ला प्रशासन कार्यालय मार्फत आएका १६ वटा उजुरीमा पनि सबै १६ वटा नै मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया