ककरोचका दुई मागमा सैद्धान्तिक सहमति, शिक्षामन्त्रीको राजीनामाबारे भोलिसम्म निर्णय हुने


काठमाडौं।

भारतमा सरकार र ककरोच जनता पार्टीबीच भएको वार्तामा दुई प्रमुख मागमा सैद्धान्तिक सहमति भएको छ। ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष राँकाले सरकारले एनईईटी (NEET) बाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा प्रदर्शनकारीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने माग स्वीकार गरेको जानकारी दिएका हुन्।

सामाजिक सञ्जाल एक्स (X) मा प्रतिक्रिया जनाउँदै राँकाले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासम्बन्धी मागमा भने सरकारले भोलिसम्मको समय मागेको उल्लेख गरेका छन्।

शुक्रबार नयाँदिल्लीस्थित विठ्ठलभाई पटेल हाउसमा आन्दोलनरत पक्षका प्रतिनिधि र केन्द्रीय मन्त्री जेपी नड्डा तथा डा. जितेन्द्र सिंहबीच वार्ता भएको थियो।

वार्ताका क्रममा आन्दोलनकारी पक्षले एनईईटी प्रकरणलाई लिएर जनस्तरमा बढ्दो असन्तुष्टि र आक्रोशबारे सरकारको ध्यानाकर्षण गराएको राँकाले बताएका छन्।

उनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म जनआक्रोश र आन्दोलन नरोकिने पनि बताएका छन्।