काठमाडौं–३० का लेखा अधिकृत घुससहित पक्राउ


काठमाडौँ।

काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृत उद्वब भट्टराई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।

अख्तियारका अनुसार स्थायी लेखा नम्बर (PAN) बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई २१ हजार घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले कारबाही गरेको हो।

टोलीले लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट २१ हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं महानगरपालिका वडा नं. ३० को कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।