काठमाडौं, (नेस) ।
नेपाल राष्ट्र बैंकले २ सय र ५ सय दरका भारतीय रुपियाँका नोट सटही गर्ने व्यवस्था लागू गरेको छ । भारतको केन्द्रीय बैंकसँगको समन्वयपछि यी दरका नोट नेपालमै आधिकारिक रूपमा सटही गर्न सकिने व्यवस्था गरिएको हो ।
यसअघि सरकारले गत मंसिरदेखि नेपाली तथा भारतीय नागरिकलाई २०० र ५०० दरका भारतीय नोट अधिकतम २५ हजार भारतीय रुपियाँसम्म नेपाल ल्याउन, लैजान र प्रयोग गर्न अनुमति दिएको थियो । तर, ती नोट सटही गर्ने औपचारिक सुविधा उपलब्ध नभएकाले व्यवहारमा समस्या देखिँदै आएको थियो ।
हालका वर्षहरूमा भारतीय पर्यटकको आगमन बढेसँगै नेपालमा २०० र ५०० दरका भारतीय नोटको प्रयोग उल्लेख्य रूपमा बढेको छ । यही अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले सटही सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
प्रचलित व्यवस्थाअनुसार नेपाली वा विदेशी नागरिकले भन्सार घोषणा नगरी अमेरिकी ५ हजार डलर बराबरसम्मको भारतीय मुद्रा साथमा ल्याउन पाउनेछन् । साथै, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका २०० र ५०० दरका भारतीय नोट प्रतिव्यक्ति २५ हजार भारतीय रुपियाँसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था कायम रहनेछ । राष्ट्र बैंकले भने पुराना १ हजार र २ हजार दरका भारतीय नोटको कारोबार तथा सटहीमा रहेको प्रतिबन्ध यथावत् रहने स्पष्ट पारेको छ ।











प्रतिक्रिया