विद्युत् निर्यातबाट इतिहासकै उच्च आम्दानी


काठमाडौं ।

नेपालले आर्थिक वर्ष २०८२÷८३ मा विद्युत् निर्यातबाट इतिहासकै उच्च आम्दानी गर्दै ऊर्जा व्यापारमा नयाँ कीर्तिमान कायम गरेको छ । स्वदेशी विद्युत् उत्पादनमा भएको वृद्धिसँगै निर्यात बढ्नु र आयात घट्नुले मुलुकले ऊर्जा व्यापारमा उल्लेख्य खुद बचत हासिल गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्ष भारत र बंगलादेशमा गरी ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरिएको छ । भारतीय ऊर्जा बजार तथा बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापार व्यवस्थामार्फत औसत ७ रुपियाँँ ५६ पैसाका दरले विद्युत् बिक्री हुँदा नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपियाँँ आम्दानी गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशत बढी हो ।यता, विद्युत् आयात भने उल्लेख्य रूपमा घटेको छ । समीक्षा अवधिमा नेपालले १ अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो । आयातमा कमी आएपछि विद्युत् खरिदमा हुने खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपियाँँमा सीमित भएको प्राधिकरणले जनाएको छ ।
निर्यातबाट प्राप्त आम्दानी र आयातमा भएको खर्चलाई तुलना गर्दा गत आर्थिक वर्ष ऊर्जा व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपियाँँ खुद व्यापार बचत गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपियाँँ रहेकोमा एक वर्षमै चार गुणाभन्दा बढी वृद्धि भएको हो ।

प्राधिकरणका अनुसार जलविद्युत् उत्पादन क्षमतामा भएको विस्तार, भारतसँगका सीमापार प्रसारण पूर्वाधारको सुदृढीकरण, भारतीय ऊर्जा बजारमा बढ्दो पहुँच तथा बंगलादेशमा पहिलो पटक सुरु भएको विद्युत् निर्यातले यो उपलब्धि सम्भव भएको हो । प्राधिकरणले पछिल्ला उपलब्धिले नेपाललाई विद्युत् आयातकर्ता मुलुकबाट क्रमशः क्षेत्रीय स्वच्छ ऊर्जा निर्यातकर्ताको रूपमा स्थापित गर्ने आधार बलियो बन्दै गएको जनाएको छ ।