काठमाडौं, (नेस) ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलल उद्घाटन गरेसँगैं े नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुनः सञ्चालनमा आएको छ । वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुङखेल हुँदै अन्त्यमा ज्याठामा स्थापित भएको हो । यस व्यायाम मन्दिरलाई समयसापेक्ष स्वास्थ्य तथा फिटनेस आवश्यकतालाई ध्यानमा राख्दै नयाँ स्वरुपमा बनाएर सञ्चालन गरिएको हो ।
चीनको ’फिटनेस च्वाइस’ नामक संस्थामार्फत १ करोडभन्दा बढी मूल्यका आधुनिक व्यायाम मेसिन तथा उपकरणहरू ल्याएर जिममा जडान गरिएको छ । नयाँ स्वरूपमा महिला र पुरुषका लागि छुट्टाछुट्टै स्टिम, साउना बाथ र कार्डियो स्टेसनका साथै दुवैका लागि छुट्टाछुट्टै शौचालयहरूको समेत निर्माण गरिएको छ ।
नयाँ थपिएका यी उपकरणहरूको सहायताले अब जिममा एकै सिफ्टमा ८० देखि १०० जनासम्मले सहज रूपमा व्यायाम गर्न सक्ने क्षमता पुगेको बताइएको छ । व्यायाम मन्दिरमा नियमित जिमका अतिरिक्त जुम्बा, विशेष योग कक्षाहरू र किकबक्सिङ प्रशिक्षणलगायत खेलकुदका अन्य विविध गतिविधिहरु समेत सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानका अनुसार व्यायामशाला जाडोयाममा बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म र गर्मीयाममा बिहान ५ बजेदेखि राति ९ बजेसम्म खुला रहनेछ । यो एउटा जनस्तरीय तथा जनताको व्यायामशाला भएकाले सेवाग्राहीहरूका लागि लिइने सेवा शुल्क तुलनात्मक रुपमा सस्तो र सुलभ राखिएको सञ्चालकहरूले जनाएका छन् ।











प्रतिक्रिया