वैदेशिक व्यापार २४ खर्ब नाघ्यो


काठमाडौं ।

नेपालको वैदेशिक व्यापार आर्थिक वर्ष २०८२÷८३ मा हालसम्म कै उच्च रहेको छ । व्यापारको कुल आकार उल्लेखनीय रूपमा विस्तार भए पनि आयातको तीव्र वृद्धिका कारण व्यापार घाटा झन् बढ्दै गएको देखिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपियाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८१÷८२ मा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रुपियाँ थियो ।

गत वर्ष नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपियाँ बराबरका वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.२० प्रतिशतले बढी हो । पहिलो पटक वार्षिक आयात २० खर्ब रुपियाँ नाघेको छ । उपभोग्य वस्तु, औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री तथा ऊर्जा र पूर्वाधारसँग सम्बन्धित सामग्रीको उच्च मागले आयात विस्तार भएको देखिएको छ ।

यस्तै, निर्यात पनि १३.८१ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपियाँ रहेको थियो । तर निर्यातमा सुधार भए पनि आयातको वृद्धि अझ तीव्र रहेकाले व्यापार घाटा १६.६३ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ८ करोड रुपियाँ पुगेको छ ।

तथ्यांकले नेपालको वैदेशिक व्यापार अझै आयातमुखी रहेको स्पष्ट देखाएको छ । कुल व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत पुगेको छ भने निर्यातको हिस्सा १३.०७ प्रतिशतमा सीमित भएको छ । आयात–निर्यात अनुपात पनि प्रतिकूल बन्दै गएको छ । गत आर्थिक वर्षमा नेपालले प्रत्येक एक रुपियाँको निर्यात गर्दा ६ रुपियाँ ६५ पैसाको वस्तु आयात गरेको देखिन्छ ।

अर्थविद्हरूका अनुसार व्यापारको आकार विस्तार हुनु आर्थिक गतिविधि बढेको संकेत भए पनि उत्पादन र निर्यातभन्दा आयातमा आधारित वृद्धि दीर्घकालीन रूपमा चुनौतीपूर्ण हुन सक्छ ।