काठमाडौँ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले वित्तीय सूचना इकाइ (एफआईयू–नेपाल) र नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा ‘एफएटीएफ मापदण्डअनुसार एएमएल/सीएफटी/सीपीएफ अनुपालन प्रभावकारिता अभिवृद्धि’ विषयक पूर्णदिवसीय कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता, बीमा कम्पनी, सहकारी तथा अन्य प्रतिवेदन दिने संस्थासहित १४० भन्दा बढी सहभागीको उपस्थिति रहेको बैंकले जनाएको छ ।
कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंक भारत तथा दक्षिण एसियाका वित्तीय अपराध अनुपालन प्रमुख जयराम मङ्गलानी र एफसीसी अनुसन्धान तथा जोखिम विशेषज्ञ जयेश कदमले वित्तीय अपराध जोखिम व्यवस्थापन, एएमएल/सीएफटी/सीपीएफ कार्यक्रमको प्रभावकारिता र अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिएका थिए ।
छलफलमा नेपालको एफएटीएफ यात्रा, ग्रे सूचीकरणको प्रभाव, अन्तर्राष्ट्रिय अनुभवबाट सिकाइ तथा नेपाललाई एफएटीएफ ग्रे सूचीबाट बाहिरिन सहयोग पुर्याउने व्यावहारिक उपायबारे केन्द्रित गरिएको थियो ।

कार्यक्रमलाई एफआईयू–नेपालका निर्देशक बासुदेव भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक जीसीएनएका वित्तीय संस्था प्रमुख हिमांशु ध्यानी तथा नेपालका वित्तीय संस्था प्रमुख राजकमल बस्नेतले सम्बोधन गरेका थिए । वक्ताहरूले सार्वजनिक–निजी सहकार्य, जोखिममा आधारित सुपरिवेक्षण, प्रभावकारी अनुसन्धान र जवाफदेहिताको महत्वमा जोड दिएका थिए ।
राजकमल बस्नेतले वित्तीय अपराध नियन्त्रणका लागि बलियो साझेदारी, निरन्तर सिकाइ र सम्पूर्ण वित्तीय प्रणालीबीच साझा प्रतिबद्धता आवश्यक रहेको बताए । उनले यस्ता पहलमार्फत उद्योगव्यापी क्षमता अभिवृद्धि र नेपालको वित्तीय पारदर्शिता तथा अनुपालन संरचना सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बैंकका अनुसार उक्त कार्यशालाले नेपालमा पारदर्शी, लचिलो र सक्षम वित्तीय प्रणाली विकासमा ज्ञान आदानप्रदान, क्षमता विकास तथा सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य राखेको छ ।











प्रतिक्रिया