मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड


काठमाडौं।

मनसुनी वर्षाका कारण हुने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै टिकटकले नेपालमा विश्वसनीय सूचना सहज रूपमा उपलब्ध गराउन विशेष सर्च गाइड सुरु गरेको छ।

टिकटकका अनुसार यो पहल प्राकृतिक विपद्का समयमा प्रयोगकर्तालाई प्रमाणित र पछिल्लो जानकारी प्राप्त गर्न सहयोग गर्ने तथा गलत सूचना फैलिन नदिन गरिएको प्रयासको हिस्सा हो।

अब टिकटकमा बाढीसम्बन्धी सामग्री खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट सूचना प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन्। उक्त सर्च गाइडमार्फत प्रयोगकर्ताले नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल (बीआईपीएडी), टिकटकको सेफ्टी सेन्टर स्रोतहरू तथा विपद्का कारण प्रभावित व्यक्तिहरूका लागि तयार गरिएको ट्र्याजिक इभेन्ट सपोर्ट गाइड मा सहज पहुँच पाउनेछन्।

टिकटकले सार्वजनिक गरेको यो गाइडमा प्राकृतिक विपद् तथा व्यक्तिगत क्षतिजस्ता संवेदनशील घटनाबारे जानकारी, मानसिक स्वास्थ्यसम्बन्धी सहयोग प्राप्त गर्ने उपाय तथा यस्ता घटनासँग सम्बन्धित सामग्री जिम्मेवारीपूर्वक साझा गर्ने वा रिपोर्ट गर्ने तरिकाबारे जानकारी समावेश गरिएको छ।

टिकटकका दक्षिण एसियाका लागि सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्ताकिनले संकटको समयमा सही जानकारीको महत्व अत्यन्त ठूलो हुने बताए।

उनले भने, “संकटका बेला सही जानकारी पनि अन्य सहयोगजत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले हामीले मानिसहरूले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक समयमा समुदाय सुरक्षित, संयमित र सही सूचनासहित अघि बढ्न सकून्।”

टिकटकले विश्वसनीय सूचना प्रवाहलाई प्राथमिकता दिँदै प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने आफ्नो प्रतिबद्धताको हिस्साका रूपमा यो सुविधा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार यस्ता सुविधालाई प्रयोगकर्ताको अनुभवमै समावेश गरेर टिकटकले महत्वपूर्ण समयमा सही जानकारी, उपयोगी स्रोत र आवश्यक सहयोगमा सहज पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ।

टिकटकले प्रयोगकर्ताले सही सूचना प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र विपद्का समयमा जिम्मेवार रूपमा सहभागी हुन सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

थप जानकारीका लागि टिकटकको सुरक्षा केन्द्र हेर्न सकिने कम्पनीले जनाएको छ।